COVID-19 Donation: Thank you – Tul Chhantyal

0
1036

सगरमाथा नेप्लिज कम्युनिटी आश्फोर्डले NHS नेसनल हेल्थ सर्भिसलाई दिएको “धन्यवाद” एउटा कोसेढुङ्गाको रूपमा रहन सक्छ!!

हाल बिश्वमा कुनै बिषय यदि चर्चामा छ भने, स्पष्टतः त्यो कोरोनाभाइरस नै हो, वा  COVID-१९।

यस्ले जनजीवनमा ठुलो असर र अप्ठ्याराहरु पारिरहेको छ। यस्लाई नियन्त्रण गर्नका लागि सरकारले मैनौ लकडाउन को निति अप्नाए पनि यो फैलने क्रम भने रोकिएको छैन।

धेरैजसो देशका बैज्ञानिकहरु covid 19 को विषयमा थप अध्ययन गर्दै उपचार तथा खोप पत्ता लगाउन लागिपरेका छन । अहिलेसम्म विभिन्न प्रकारका खोपहरुको परिक्षण गरिएता पनि कुनै सकारात्मक परिणाम भने निस्कन सकेको छैन।

आज यो विषम परिस्थितिमा मानिसलाई दैनिक नितान्त आवस्यक पर्ने जस्तै रासन पानीको आपूर्ति, स्वास्थ्य उपचार र सामाजिक हेरचाह कार्य (social care work) गर्ने जस्ता प्रमुख कामदारहरुले आफू र आफ्नाहरुको ज्यान जोखिममा राखेर ठुलो बहादुरीताका साथमा काम गरिरहेका छन।

यस्मा विशेष गरेर राष्ट्रीय स्वास्थ्य कर्मचारीलेहरुले यस भाइरसवाट संक्रमितहरुसङ्ग प्रत्यक्ष रूपमा सामना गर्नुपर्ने भएको हुँदा बेलायतको सन्दर्भमा मात्र उपचारको क्रममा भाइरस द्वारा आफैं संक्रमित भइ झन्डै दुइ सय जनाले ज्यान गुमाई सकेका छन।

आज यहि NHS hero हरुका त्यागको कारण धेरै भाइरस सङ्क्रमितहरुको ज्यान बचेको छ। अहिले यो महामारीको परिस्थितिमा सबैले आफ्नै ज्यान जोगाउन लागिपरेको अवस्थामा यी स्वास्थ्य सेवाका कर्मचारीहरुले देखाएका उदारताप्रति देशमा सरकार देखि सबै जनमानसले ठुलो सराहना गर्दै विभिन्न तरीकावाट धन्यवाद व्यक्त गरेका छन। र यसै क्रममा हाम्रो समाजको तर्फबाट पनि धन्यवाद व्यक्त गर्नुपर्छ भनेर समाजका बुद्धिजीवी लगायत समितिका पदाधिकारी ज्यु हरुले एउटा राम्रो बिचार बाहिर ल्याउनु भयो जुन अति उदाहरणीय छ।

यसै अभियानलाई अगाडि बढाउदै समाजले आश्फोर्ड केन्ट्मा रहेका सदस्यहरुवाट £6,129.06 नेपाली रुपैयाँ ९२१०८५.१४ संकलन गरेर इस्ट केन्ट स्थित विलियम हार्भी अस्पताललाई धन्यवाद स्वरुप स्वरकम हस्तान्तरण गरेकोमा, म आफू पनि यही समाजको एक सदस्य भएको हैसियतले विशेष गरेर यस् समाजका बर्तमान अध्यक्ष श्री चक्र बहादुर राई ज्यु लगायत उहाँका कार्यसमिति र  यस समाजका प्रथम उपाध्यक्ष तथा यस परियोजनाका संयोजक श्री डम्बर सिंगक ज्यु र उहाँका टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

हुनत यो वार्षिक बजेट नै बिलियन:बिलियन पाउन्डको हिसाब गर्ने NHS को लागि वा क्याप्टेन टोम जस्तो एक ब्यक्तीले नै यो महामारीमा NHS लाई सहयोग भनेर संकलन गरेको ३३ मिलियन पाउन्डको तुलनामा यो रकम त केहि पनि होइन नै। तर यसरी आफ्नै ज्यान गुमाएर अरुको ज्यान बचाउन अहोरात्र खटिएका राष्ट्रीय स्वास्थ्य सेवकहरुलाई “धन्यवाद” भन्नु नै यसको मुल उद्देश्य रहेको मेरो बुझाइ रहेको छ र मलाई लाग्छ हामी सफल भएका छौं। “र यो हामी सबैको लागि एउटा कोसेढुङ्गाको रूपमा रहन सक्छ।”

कम्युनिटिले हामी आफू रहेको कर्म भूमिमा देखाएको यो सद्भावले निश्चित रूपमा हामी सबै एक अर्काको साथमा छौं भन्ने कुरोको संकेत गरेको छ।

साच्चै भन्नुपर्दा, हाम्रो यो अभावै अभावको जीवनमा संघर्ष गर्दै हामी नेपालीहरुको पहिचानलाई यो उचाईमा पुऱ्याउन संस्थाको स्थापना कालदेखि अहिलेसम्म विभिन्न ओहदामा बसेर कुशलतापूर्वक जिम्मेवारी पूरा गर्दै आउनु भएका सम्पुर्ण पदाधिकारी ज्यु हरु प्रति अन्तरमन देखि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

समाज यसरी नै अगाडि बढी रहोस्।

शुभेच्छा सहित शुभकामना।

धन्यवाद।

तुल छन्त्याल
संस्थापक सदस्य